राप्रपामा अब कोही असन्तुष्ट हुनुपर्दैनः राजेन्द्र लिङ्देन

पौष २८,२०७८

-आस्था न्यूज

पुस २८, २०७८ काठमाडौं ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापनाका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसमितिका मनोनित सदस्यहरुलाई सपथ गराउँदै अध्यक्ष लिङ्देनले पार्टीमा कोही असन्तुष्ट हुनु नपर्ने र सबैलाई समेटेर अघि बढ्ने आफ्नो चाहना रहेको बताए ।
 
‘हाम्रो मुख्य कार्यभार पार्टीको हालै सम्पन्न महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाको सफल कार्यान्वयन हो, लिङ्देनले भने, ‘सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन सक्दैन ।’
 
लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गर्दा अनुभवी, पार्टीको लागि आवश्यक, पार्टीमा योगदान दिएका व्यक्तिलाई मनोनयन गरिएको उल्लेख गर्दै मनोनीतको संख्या अझै बाँकी रहेको र संविधानले व्यवस्था गरे बमोजिमको समानुपातिक समावेशीतालाई पूर्ण रुपले पालना गरिने बताए ।
 
अध्यक्ष लिङ्देनले पार्टीको विधान अनुसार केही दिन अघि ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए । राप्रपाको विधान अनुसार १९९ जनाको कार्यसमिति हुने र त्यसमध्ये १४९ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेको छ भने ५० जना अध्यक्षले मनोनीत गर्न पाउनेछन् ।