एमाले अधिवेशन अन्तर्गत दैलेखमा फेरि मतदान गर्न निर्देशन

पौष २९,२०७८

-आस्था न्यूज

पुस  २९, २०७८ काठमाडौं ।
एमाले जिल्ला अधिवेशन अन्तर्गत विवादित बनेको दैलेखमा पुनः मतदान हुने भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले पुनः मतदान गर्न निर्देशन दिएको हो ।
 
सोमबार भएको मतदानमा खसेकोभन्दा ३१ बढी मतपत्र मत पेटिकामा भेटिएपछि विवाद भएको थियो । जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मतपत्र भेटिएपछि मतगणना रद्द गरिएको थियो ।
 
पार्टीभित्रको आन्तरिक चुनावमै दलका नेताहरुबीच टकराव हुन थालेपछि कार्यकर्ताहरूले नेताहरूमाथि नैतिक प्रश्न उठाइरहेका छन् । एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले कुरा गर्दै भने, ‘अब चुनाव हुन्छ । मिति तोकिएको छैन । यसअघिको बदर गर भन्ने कुरा पार्टी केन्द्रबाट निर्देशित छ ।’
 
उनले जसबाट जे गल्ती भए पनि गम्भीर अपराध भएकाले छानबिन गरिने र कारबाहीको विषय बनेको बताए । ‘छानबिनको पाटो अर्कै हो, कसले गल्ती गर्यो भन्ने कुरा माथिल्लो कमिटी ९प्रदेश कमिटी०ले निर्क्यौल गर्छ ।’
 
बिहीबार एमाले कर्णाली प्रदेशका इञ्चार्ज यामलाल कँडेललको टोली दैलेख जान लागेको छ । एमाले दैलेख जिल्ला इन्चार्ज तथा अध्यक्ष मण्डलका प्रमुख लक्ष्मीप्रसाद पोखरेलले पार्टीभित्रको चुनाव भएकाले आन्तरिक रुपमै समाधान गरिने बताए ।