माधव नेपालले घात गरेर काँग्रेसको पाउमा सत्ता चढाएको प्रदीप ज्ञवालीको आरोप

माघ ०१,२०७८

-आस्था न्यूज

माघ १, २०७८ काठमाडौं ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घात गरेर काँग्रेसको पाउमा सत्ता चढाएको आरोप लगाएका छन् । उनीहरुले सत्ता स्वार्थका लागि एमालेलाई घात गरी काँग्रेसको पाउमा सत्ता चढाएको बताए ।
 
शनिबार रौतहटको मौलापुर नगरपालिकाको मर्यादपुर आयोजित दलित वस्ती उद्घाटन समारोहमा बोल्दै ज्ञवालीले दुई तिहाईको स्थिर सरकार हेर्न नचाहाने केही नेता र सर्वोच्च अदालतको मिलेमतोमा ओली सरकार ढालिएको जिकिर गरे ।
 
ज्ञवालीले स्थानीय तहमा एमालेको राम्रो पकड रहेको देखेपछि समयै निर्वाचन गराउने कुरामा आनकानी भैरहेको बताए । गठबन्धन सरकार ०५९ सालको जसरी कर्मचारी तन्त्रलाई प्रयोग गरी साधन श्रोतको दुरुपयोग गरेर निर्वाचन गराउन लागेको आरोप समेत उनले लगाए ।
 
 
ज्ञवालीले एक साताभित्र सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । कार्यक्रममा एमाले स्थायी समिति सदस्य प्रभु साह लगायतले सम्बोधन गरेका थिए । 
 
 
मौलापुर नगरपालिकाको कुल ३ करोड ४६ लाखको लागतमा ११ कठा जग्गा खरिद गरेर २५ वटा घर निर्माण गरी दलित वस्ती निर्माण गरिएको हो ।