सुर्खेतमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु

माघ ०२,२०७८

-आस्था न्यूज

माघ २, २०७८ काठमाडौं। 
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुद्बुदीमा निसासिएर एकै परिवारका चार जनाको ज्यान गएको छ ।
 
जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उहाँका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र  दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
 
घटना अस्ति शुक्रवार रातिकै भए पनि हिजो बेलुका मात्रै सार्वजनिक भएको थियो । हिजो बेलुका सूचना पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।
 
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको ज्यान गएको हुन सक्ने देखिएको छ ।  ज्यान गुमाएकी कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट फर्किँदै गरेकाले चारै जनाको शव परीक्षण हुन बाँकी छ ।
 
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । जाडोमा चिसो छल्न कोइला, ब्रिक्रेट तथा हिटर बाल्दा ध्यान दिन विज्ञले सुझाव दिँदै आएका छन् । बन्द कोठा भित्र यसरी कोइला, ब्रिक्रेट तथा हिटर बाल्दा अक्सिजनको कमी भइ निसासिएर ज्यान जाने जोखिम धेरै हुन्छ । जाडोबाट जोगिन तातो र न्यानो कपडा लगाउनु नै उत्तम हुने विज्ञ बताउँछन् ।
 
उनीहरुकाअनुसार कोइला बाल्नै परे खुला ठाउँमा बाल्नुपर्छ । खुल्ला ठाउँ छैन भने कोठाको झ्याल ढोका खुला राख्नु पर्छ । यस्तै, हिटर पनि लामो समयसम्म ताप्नु हुँदैन ।