राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित

माघ ०२,२०७८

-आस्था न्यूज

माघ २, २०७८ काठमाडौं ।
संघीय संसद्, राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ । माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना संघीय संसद् सचिवालयले जारी गरेको छ । 
 
संघीय संसद्का महासचिव भरतराज गौतमले विशेष कारणवश स्थगित गरिएको जानकारी दिएका छन् । माघ ३ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उक्त बैठक स्थगित भएकोु सूचना महासचिव गौतमले जारी गरेका हुन् ।
 
यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि विशेष कारणवश बस्न नसक्ने सूचना जारी भएको थियो । प्रतिनिधिसभा बैठक पनि पटकपटक सूचना जारी गरेर स्थगित हुँदै आएको छ । संसद्‌मा एमालेको अवरोध र कोरोना संक्रमणको कारण देखाउँदै दुवै सदनका बैठक स्थगित हुँदै आएका छन् ।