Trending :
 

वीरगञ्जलाई राजधानी नबनाएको विरोधमा आन्दोलन

माघ ०७,२०७८

-आस्था न्यूज

माघ ७, २०७८ काठमाडौं ।
माघ ३ गते साविक प्रदेश २ (हाल मधेस प्रदेश)को प्रदेशसभाबाट जनकपुरधामलाई स्थायी राजधानी बनाउने निर्णय भयो । राजधानीका लागि भएको मतदानमा ९९ जना प्रदेशसभा सदस्य सहभागी भएकोमा ७८ मत जनकपुरलाई राजधानी बनाउने पक्षमा खसेको थियो । 
 
२१ मत उक्त प्रस्तावको विपक्षमा खसेको थियो । जनकपुरलाई राजधानी घोषणा गरेसँगै वीरगञ्जमा त्यसविरुद्ध आन्दोलन सुरु भयो । वीरगञ्जलाई राजधानी नबनाएसम्म आन्दोलन नरोकिने आन्दोलनरत पक्षको चेतावनी छ ।
 
वीरगञ्जलाई राजधानी बनाउनुपर्छ भन्दै भइरहेको आन्दोलनमा पर्सा जिल्लाकै सबै प्रदेश सांसद तथा संघीय सांसदको समर्थन छैन । पर्साबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य प्रदीप यादव (जसपा नेपालका सांसद) भन्छन्, ‘वीरगञ्ज राजधानी हुनुपर्छ भन्ने कुरा हामीले सुरुदेखि नै उठाउँदै आएको हो, आन्दोलनको क्रममा मधेसका शीर्ष नेता उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुरलगायतले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउने अभिव्यक्ति पटक पटक दिनुभएको थियो तर आज उहाँहरु मौन बस्नुभयो ।’
 
वीरगञ्जमा भइरहेको आन्दोलनप्रति आफ्नो नैतिक समर्थन रहेको र सो आन्दोलनले भोजपुरा प्रदेश बनाउनुपर्ने माग गरेको उनले बताए । उनले भने, ‘हिम्मत छ भने आन्दोलन गर्ने हरेक पार्टीका सांसदले आ–आफ्ना पार्टीका अध्यक्षको पुतला जलाएर देखाउन्, किनभने पार्टीका अध्यक्षहरुकै कारणले वीरगञ्ज राजधानी हुन सकेन ।’ आफ्नो पार्टी र नेताको विरुद्ध आन्दोलन गर्न नसक्नेले यो आन्दोलनको नाटक नगर्दा हुने उनको भनाइ छ ।
 
पर्साबाटै प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पनि यो आन्दोलनले मधेसवादी दललाई बद्नाम मात्र गराएको बताए । उनले भने, ‘वीरगञ्जलाई राजधानी बनाउँदा राम्रै हुन्थ्यो, तर काँग्रेस र माओवादी केन्द्रले जनकपुरलाई समर्थन गरे । अहिले जनकपुर राजधानी बनाए भनेर मधेसवादी दलमा मात्र बद्नाम भएका छन् ।’
 
वीरगञ्जमा भइरहेको आन्दोलनको बारेमा आफूसँग कसैले सल्लाह पनि गरेको छैन, कसैले सोधेको पनि छैन त्यसले तत्काल त्यसप्रति आफ्नो कुनै समर्थन नरहेको बताए ।
 
तर वीरगञ्जकै कतिपय सांसदले वीरगञ्जलाई राजधानी बनाउनका लागि वारपारको आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् ।