बैंकहरुको नाफा १० प्रतिशत बढ्यो
-आस्था न्यूज
माघ ११, २०७८ काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २६ वाणिज्य बैंकहरुले कुल ३३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको यसै अवधिको तुलनामा नाफा १० प्रतिशतले बढेको हो । गत वर्षको ६ महिनामा यी बैंकले ३० अर्ब ४१ करोड रुपैयाँ कमाएका थिए ।
बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ६ वटाको नाफा घटेको छ । प्राइम कमर्सियल, प्रभु, कुमारी, एभरेष्ट, नेपाल बंगलादेश र सनराइज बैंकको नाफा घटेको छ । हिमालयन बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेको छैन ।
चालु आवको ६ महिनामा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत वर्षको यसै अवधिमा २ अर्ब ३१ करोड थियो । ग्लोबल आईएमईपछि एनआईसी एसिया बैंकले २ अर्ब ४० करोड नाफा कमाएको छ भने नबिलले २ अर्ब १८ करोड कमाएको छ ।