Trending :
 

गौतमबुद्ध विमानस्थल फागुन ९ गतेसम्म परीक्षण उडानका लागि तयारी बनाइने छः मन्त्री आले

माघ १५,२०७८

-आस्था न्यूज

माघ १५, २०७८ काठमाडौं । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जयन्ती अगावै संचालनमा आउने बताएका छन् ।
 
शनिबार विमानस्थल आयोजनाको निरीक्षणपछि बोल्दै मन्त्री आलेले विमानस्थल सञ्चालनमा अब कुनै पनि बिलम्ब नहुने गरी योजना बनाइएको बताए । मौसम अनुकूल भए आउँदो फेब्रअरी २१ अर्थात फागुन ९ गतेसम्म परीक्षण उडानका लागि विमान अवतरण हुने गरी कार्यतालिका तयार पारिएको उनको भनाइ छ ।
 
परीक्षण उडानका लागि अहिले विमानसहित मौसम, सञ्चार र जडान गरिएका उपकरण एवं ग्राउन्ड चेकको काम भइरहेको छ ।
 
परीक्षण उडान सफल भएपछि आउँदो बुद्धजयन्ती अगावै अन्तर्राष्ट्रिय उडान गर्न मन्त्री आलेले निर्देशन दिएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको आईसीबी–२ का व्यवस्थापक प्रविन न्यौपानेले बताए ।
 
‘बुद्ध जयन्ती अगावै अन्तर्राष्ट्रिय उडान शुरु गर्नेगरी काम गर्न मन्त्रीज्यूले निर्देशन दिनुभयो’ न्यौपानेले भने ।
 
विमानस्थल अनुगमनमा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली आएको थियो ।