सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति नभएको माओवादी नेता श्रेष्ठको भनाई
-आस्था न्यूज
माघ १६, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति नभएको बताएका छन् । उनले एमसीसी सम्झौता पारित नभए गठबन्धन तोडिन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको पनि जिकिर गरेका छन् ।
‘कुनै भ्रममा नपरौँ, प्रमले एमसिसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन। आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन’, उनले ट्वीटरमा भनेका छन् । गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा झूटो भएको बताउँदै माओवादी पनि यथास्थितिमा त्यसको पक्षमा नरहेको स्पष्ट गरेका छन् ।
नेकपा माओवादी केन्द्रमा श्रेष्ठले एमसीसी अहिलेकै अवस्थामा पारित हुन नहुने अडान राख्दै आएका छन् भने माओवादीले पार्टी बैठकबाटै यथास्थितिमा एमसीसी पारित हुन नसक्ने धारणा राख्दै आएको छ । स्वयम् अध्यक्ष प्रचण्डले एमसीसी हुबहु पारित हुन नसक्ने बताउँदै आएका छन् ।
माओवादीले पुस तेस्रो साता सम्पन्न महाधिवेशनबाट सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएको निष्कर्ष समेत निकालेको थियो ।