सभामुख हटाए एमसीसी पास गर्न सघाउँने देउवालाई एमालेको प्रस्ताव
-आस्था न्यूज
माघ १६, २०७८ काठमाडौं ।
प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसामू सभामुख अग्नि सापकोटालाई हटाए प्रतिनिधिसभाको अवरोध खोल्ने र अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अनुमोदन गर्न सघाउने प्रस्ताव गरेको खुलेको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी नेता ओलीलाई भेट्न २४ पुसमा उनकै निवास बालकोट पुगेका थिए । ओलीलाई विस्थापित गरेर देउवा प्रधानमन्त्री भएपछि उनीहरुबीच पहिलोपटक भएको औपचारिक भेट करिब एक घण्टा चलेको थियो ।
त्यो भेटमा प्रधानमन्त्री देउवाले संसद अवरोध खोल्न र एमसीसी अनुमोदनका लागि सहयोग मागेका थिए । प्रधानमन्त्री देउवाले हालै मात्र गठबन्धनका केही शीर्ष नेताहरु र पार्टीका आफू निकट नेताहरुलाई बताएअनुसार ओलीले सभामुख हटाए संसद अवरोध खोल्ने र एमसीसी पास गर्न पनि सघाउने जवाफ दिएका छन् ।
‘केपीजीले सभामुखलाई हटाऔं, त्यसमा तपाईंले गठबन्धनका अरु नेताहलाई सहमत गराउनुस् । एमसीसी पास गर्न म समर्थन गर्छु भन्नुभएको रहेछ,’ प्रधानमन्त्रीको ब्रिफिङ सुनेका कांग्रेसका एक नेताले अनलाइनखबरलाई बताए ।
प्रधानमन्त्री देउवा शुरुदेखि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् । तर सत्ता गठबन्धनमा सहमति जुटाउन सकेका छैनन् । खासगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न तयार देखिएका छैनन् ।
तर ओलीले सभामुख हटाए वा सत्ता गठबन्धन टुटाए सघाउन वचन दिएका कारण उनले फेरि एमसीसी अनुमोदन गर्ने प्रयत्न थालेका छन् । शनिबार स्थानीय तह निर्वाचनबारे छलफल गर्न बोलाएको गठबन्धनको बैठकलगत्तै उनले एमसीसीबारे सरकारमा भएका चार दलका शीर्ष नेताहरु र एमसीसी अध्ययनका लागि बनेको कार्यदलका सदस्यहरुसँग छलफल गरेका थिए ।
त्यो छलफलमा पनि उनले एमसीसी अगाडि बढाउने र साथ नदिए सत्ता गठबन्धन टुट्न सक्ने बताएका थिए ।