Trending :
 

जेठ ४ मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव

माघ १८,२०७८

-आस्था न्यूज

माघ १८, २०७८ काठमाडौं ।
निर्वाचन आयोगले २०७९  जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव पेस गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगले  ६ पृष्ठ लामो प्रस्ताव पेस गरेका हो ।
 
२०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको पदावधि नेपालको संविधान बमोजिम २०७९ जेठ ५ मा समाप्त हुने भएकाले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार र आयोगको संवैधानिक एवम् कानुनी दायित्व भएको आयोगले सरकारलाई स्मरण गराएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम जेठ ४ गते निर्वाचनको मिति तोक्न आयोगको सरकारलाई सुझाव छ ।
 
स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुन बमोजिम आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भए पनि आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता नामावली सङ्कलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व तयारीका अन्य कार्यहरू निरन्तर गरिरहेकोले आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आफूहरू तयारी अवस्थामा रहेको पनि आयोगको भनाइ छ ।