नेपालले मरिससलाई एक-शून्य गोलले हरायो
-आस्था न्यूज
माघ १८, २०७८ काठमाडौं ।
मरिसससँगको दोस्रो मैत्रीपूर्ण खेल पनि नेपालले जितेको छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई एक–शून्य गोलले हराएको हो । नेपालका लागि खेलको १० औँ मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।
यस्तै नेपाली किपर किरण चेम्जोङले पेनाल्टी प्रहार बचाए । नेपालले विपक्षी खेलाडीलाई डीबक्समा लडाउँदा मरिससले पाएको पेनाल्टी किरणले रोकेका हुन् । आजको खेलमा दुवै टोलीले पटक–पटक फउल गरे ।
खेलको दोस्रो हाफ भने केही तनावग्रस्त बनेको थियो । आजको खेलमा दुवै टोलीका खेलाडीले रेड कार्ड पाए । खेलको ७० औँ मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा सीमित भयो । दुवै टोलीका खेलाडीले घम्साघम्सी गरेपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । यस्तै नेपालका पुजन उपरकोटी पनि रातो कार्ड पाउँदै मैदानबाट गए । यस्तै रेफ्री नविन्द्र महर्जनले नेपालका टिम म्यानेजर मधुसदन उपाध्यायलाई पनि रातो कार्ड देखाए ।
यस्तै खेलको ७८ औँ मिनेटमा मरिसस नौ खेलाडीमा समेटियो । नेपालका गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएल रातो कार्ड पाउँदै मैदान बाहिर गए ।
नेपालले मरिसससँग दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि गएको शनिवार भएको खेल नेपालले एक–शून्यले जितेको थियो । नेपाललाई जिताउन दुई वर्षपछि टोलीमा फर्किएका विमल घर्तीमगरले गोल गरेका थिए ।