टेलिकमलाई फाइभ-जी सेवा तत्काल परीक्षण गर्न निर्देशन
-
माघ २२, २०७८ काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभ-जी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।
मन्त्री कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् ।
टेलिकमको १८औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाई नगर्न पनि टेलिकमलाई आग्रह गरे ।
‘फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर विछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभ(जीको सेवा परीक्षणका निम्ति स्वीकृति प्राप्त भइसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन आग्रह गर्दछु, उनले भने, सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पुर्याई देशको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो, छरितो र प्रविधिमैत्री सेवा पुर्याउने नै छ ।’
मन्त्री कार्कीले तीव्र गतिको इन्टरनेट सेवा विस्तार गरी ग्राहकहरुलाई छिटो, छरितो र सुलभ सेवा उपलब्ध गराउन पनि टेलिकम समक्ष हुने विश्वास व्यक्त गरे ।