वर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्नेमा रामचन्द्र पौडेलको जोड
-आस्था न्यूज
माघ २३, २०७८ काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताएका छन् । पोखरामा काँग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटनमा पौडेलले काँग्रेससँग ३० प्रतिशत मात्र मत भएको बताए ।
काँग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाँउमा गएमा के हुन्छ भन्नेमा पौडेलको प्रश्न छ ।
उनले संविधानमा नै अनुसार पनि कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविष्यमा सरकार बनाउने शक्तिहरुले चुनावमा नै गठबन्धन बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन । त्यसकारण सरकार चलाउनका लागि पनि अरु पार्टीसँग गठबन्धन गर्नैपर्छ । गठबन्धनको संस्कृतिको विकास गर्न आवश्यक छ ।’
राष्ट्रियसभा गठबन्धन मिल्दा ६ जना सदस्य पाएको उपलब्धि हो कि होइन भन्दै पौडेलले गठबन्धन गर्न हुँदैन भन्नेहरूलाई प्रश्न गरे । यस्तै पौडेलले मुलुकलाई असफल हुनबाट रोक्न प्रधानमन्त्री, गठबन्धनका नेताहरु र प्रमुख विपक्षी दलका नेता केपी ओलीलाई समेत आफूले आग्रह गरेको बताए ।