गठबन्धनले एमसीसीलाई विवादास्पद बनाएको प्रदीप ज्ञवालीको आरोप
-आस्था न्यूज
माघ २३, २०७८ काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०लाई सत्तारुढ गठबन्धननले गिजोलेर विवादास्पद बनाएको बताएका छन् ।
नेता ज्ञवालीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूले अमेरिकासँग एउटा कुरा र नेपाली जनतासँग अर्को कुरा गरेर एमसीसीलाई गिजोलेको बताएका हुन् । प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले कांग्रेस माओवादी गठबन्धनकै सरकारको पालामा यो सम्झौता भएको तर, अहिले उनीहरू नै सरकारमा भएका बेला यो बढ्ता विवादास्पद बनाइएको टिप्पणी गरे ।
‘खासगरी माओवादी नेताहरूको दोहोरो भूमिकाले एमसीसीका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि अविश्वसनिय बनेको छ’ज्ञवालीले भने,‘एकातिर अमेरिकालाई चिठी लेखर पाँच महिनामा पास गर्छौं भन्ने, यता नेपाली जनतालाई संशोधन नगरी पास गर्दैनौं भन्ने कस्तो चरित्र हो ?’
एमसीसीमा राष्ट्रहीत विपरित प्रावधानहरू भए सम्झौता गर्नेहरूले नै गल्ती स्वीकार गर्नुपर्ने बताए । एमसीसी संसदमा छलफल हुन पाउनुपर्ने र संसदमा टेबल भएपछि मात्र एमालेले औपचारिक धारणा सार्वजनिक गर्ने नेता ज्ञवालीले दोहोर्याए ।
एमसीसीको विषय अंध्यारो कोठामा सत्ता लेनदेनको विषय बनाउन नहुने ज्ञवालीको भनाइ छ । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई संसदमा टेबल गर्ने बाटो छेक्न नपाउने भन्दै ज्ञवालीले सभामुखको भूमिका विवादास्पद रहेको टिप्पणी गरे ।
सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारवाहीको सूचना टाँस नगरेर गल्ती गरेको भन्दै आत्माआलोचना गरे संसद पुनस् सञ्चालन गर्ने विषयमा सोच्ने ज्ञवालीले बताए ।