देउवा, प्रचण्ड र ओली भेटः एमसीसी लगायतका विषयमा खुलस्त छलफल
-आस्था न्यूज
माघ २४, २०७८ काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको छलफल सम्पन्न भएको छ ।
छलफल पछि पत्रकारहरूसँग कुरा गर्दै वार्तामा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको राष्ट्रिय राजनीति, संसदमा अवरोध र अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (मसीसी) लगायतका विषयमा खुलस्त हार्दिकताका साथ छलफल भएको बताउनुभयो ।
छलफल जारी रहने र छलफलमा संसदलाई प्रभावकारी बनाउने, एमसीसीलाई संसदमा छलफल गरेर निकास दिने विषयमा छलफल भएको बताउनुभयो । एमसीसीलाई सकारात्मक रूपमा निकास दिने बिषयमा छलफल भएको र एमसीसीबारेको भ्रम चाँडे हट्ने र कार्यान्वयनमा जाने बताउनुभयो ।
छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले बैठकमा प्रतिनिधिसभा संसदमा प्रतिपक्षीको उपस्थितिको वातावरण बन्नुपर्नेमा जोड दिएको र यो भनाई प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राखिएको बताउनुभयो । संसद सुचारु गर्ने जिम्मा सरकारको भएको पोखरेलले बताउनुभयो ।
देशको राष्ट्रिय राजनीतिमा अन्तराष्ट्रिय लगायतका मामिलामा खासगरी, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्भौता, आगामी निर्वाचन र कोभिड–१९ महामारीका विषयमा बैठकमा छलफल भएको बताउनुहुदै पोखरेलले एमसीसीबारे पहिले सत्तागठबन्धनको स्पष्ट धारणा बाहिर आउनुपर्ने बताइएको जनाउनुभयो । राष्ट्रिय मुद्दाका सन्दर्भमा र स्थानीय तहको निर्वाचन समयमै गर्नेमा एमालेले आफ्नो अडान कायम राखेको र यसमा सकारात्मक सम्बोधन हुने पनि उहाँले बताउनुभएको छ ।
यसबाहेक पछिल्लो समय कोभिड–१९ महामारीको समयमा भएको २४ लाख खोप प्रकरणका विषयमा सरकार गम्भिर र संवेदनशील बन्न नसकेकोप्रति एमालेले सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।
बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्ष ओली पहिलो पटक आज बालुवाटार वार्तामा सहभागी हुनुभएको हो ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले एमसीसीमा राष्ट्रिय सहमति जुट्नुपर्नेमा जोड दिनुभएको थियो । माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौताबारे उहाँले राष्ट्रिय सहमति हुनुपर्ने र स्थानीय चुनाव पछि गर्नुपर्ने प्रस्ताव गर्नुभएको जानकारी दिनुभयो ।
एमसीसी सम्बन्धमा चुनावपछि सरोकारवाला, नागरिक समाज, बुद्धिजीवि सबैसँग सल्लाह गरेर अघि बढ्नुपर्ने विषय माओवादी अध्यक्ष प्रचण्डले राख्नुभएको शर्माले बताउनुभयो ।