एमसीसीबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल गरिने
-आस्था न्यूज
माघ २४, २०७८ काठमाडौं ।
एमसीसीबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल गरिने सभापति पवित्रा निरौला खरेलले बताएकी छन् । सांसदहरूले एमसीसीबारे कुरा उठाएपछि समिति सभापति खरेलले त्यसका लागि बैठक बोलाइने जानकारी गराएकी हुन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा सबै राजनीतिक दलका सांसदहरूले एमसीसीबारे कुरा उठाएका थिए । सांसदहरूले एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असोज १३ गते लेखेको पत्र कूटनीति मर्यादाविपरीत रहेको भन्दै त्यसबारे छानबिन गर्न पनि माग गरेका थिए ।
सांसदहरूले कुरा उठाएपछि समिति सभापति खरेलले ती विषयमा छलफलका लागि समय निर्धारण गरेर बैठक बोलाइने बताइन् । एमसीसीबारे छलफलको माग भएको छ, उनले भनिन्, एमसीसीबारे सांसदहरू अनभिज्ञ भएर बस्नु उचित भएन । अर्को बैठकमा हामीले छलफल गर्नुपर्छ ।
समिति सभापति खरेलले प्रधानमन्त्री देउवा र दाहालको पत्र अशोभनीय भएको बताइन् । प्रधानमन्त्री र अर्को दलका नेताको पत्र पनि अशोभनीय कुरा देखिएको छ र गम्भीर कुरा देखिएको छ, उनले भनिन् ।
एमसीसीबारे सर्वत्र छलफल भइरहेका बेला सांसदहरू मौन रहन नहुने सभापति खरेलको भनाइ थियो । एमसीसीबारे सारा नेपाली जुरुक्क भएका बेला हामी माननीय कानमा तेल हालेर बस्नु शोभनीय भएन ।