प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित
-आस्था न्यूज
माघ २५, २०७८ काठमाडौं ।
बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए ।
संसद् सचिवालय स्रोतका अनुसार सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न निर्देशन दिइसकेका छन् । संसद् सचिवालयले सूचना जारी गरेर अर्को बैठक फागुन २ गतेका लागि बोलाउने भएको छ ।
प्रधानमन्त्री देउवाले बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका थिए । तर त्यस विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति भने जुटेको थिएन । एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्रीले समय लिएको बताइएको छ ।
मंगलबार मात्रै सभामुखको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका थिए । उक्त कार्यसूचीमा एमसीसी टेबुल गर्ने विषय राखिएको थिएन ।
सम्भावित कार्यसूची जारी गरेपछि सभामुख सापकोटाले बुधबार बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । उक्त बैठकमा सरकारको तर्फबाट मन्त्री बडूले एमसीसी टेबुल गर्ने विषय राख्ने तयारी थियो ।
प्रधानमन्त्री देउवाले मंगलबार साँझ मन्त्री बडूलगायतका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेपछि संसद् बैठक सार्न सभामुखलाई आग्रह गरिएको हो ।