कोभिड महामारी अन्त्य गर्न धनी मुलुकलाई तत्काल १४ बिलियन युरो तिर्न आग्रह
-आस्था न्यूज
माघ २७, २०७८ काठमाडौं ।
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोभिड महामारी अन्त्य गर्न धनी मुलुकलाई तत्काल १४ बिलियन युरो तिर्न आग्रह गरेको छ। डब्ल्युएचओले बुधबार विश्व कोभिड महामारी अन्त्यका लागि धनी मुलुकहरुलाई तत्काल १४ बिलियन युरो उपलब्ध गराउन आग्रह गरेको हो।
‘कोभिड(१९ सँग लड्न विज्ञानले हामीलाई उपकरणहरु उपलब्ध गरायो,’ डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोमले भनेका छन्, ‘अब बाँकी उपकरण खरिद गर्न र कोभिडसँग जुध्ने योजनालाई प्रभावकारी बनाउन यदि धनी मुलुकहरुले सो रकम उपलब्ध गराएमा हामीले कोभिड महामारीलाई चाडो अन्त्य गर्न सक्छौं।’
उच्च आयस्रोत भएका धनी मुलुकहरुले न्यून र मध्यम आय भएका मुलुकलाई सो रकम उपलब्ध गराएमा सबैले कोभिडविरुद्ध समान ढंगले जुध्नसक्ने र चाँडै महामारीको अन्त्य हुने डब्ल्युएचओको भनाइ छ।
बेलायतले विदेशबाट १५ हजार नयाँ स्वास्थ्यकर्मी भर्ति गर्दै
लण्डनः बेलायत सरकारले विदेशबाट १५ हजार नयाँ स्वास्थ्यकर्मी भर्ति गर्ने भएको छ। कोभिड महामारीको सामना गर्न बेलायतले आगामी मार्चको अन्त्यदेखि विदेशबाट सो संख्यामा नयाँ स्वास्थ्यकर्मी भर्ति गर्ने भएको हो।
बेलायतका स्वास्थ्य महासचिव सजिद जाभिडले सो प्रतिज्ञा गरेका हुन्। उनका अनुसार बेलायतले देश बाहिरबाट १० हजारभन्दा बढी नर्स र ५ हजारभन्दा बढी स्वास्थ्यकर्मी भर्ना गर्न लागेको हो। कोभिड(१९ का कारण खराब अवस्थामा पुगेको बेलायतको स्वास्थ उपचार सेवा सुधार्न सरकारले सो संख्यामा विदेशी स्वास्थ्यकर्मीलाई रोजगार दिन लागेको हो। बेलायतले आगामी २ वर्षका लागि स्वाथ्यकर्मीलाई भर्ति गर्न लागेको बताइएको छ।