Trending :
 

एमसीसी फेल भए त्यो नेपालका लागि दुर्भाग्यपूर्ण हुनेः रामचन्द्र पौडेल

फाल्गुण ११,२०७८

-आस्था न्यूज

फागुन ११, २०७८ काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलहरूले प्रस्ताव अस्वीकार गरे प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
 
उनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० फेल भए‚ त्यो नेपालका लागि दुर्भाग्यपूर्ण हुने समेत बताए । संसद्‍मा पेश भएको एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता साझेदार दल र विपक्षी दलसँग समेत संवाद भइरहेको भन्दै नेता पौडेलले कांग्रेस एमसीसीबाट पछि हट्न नसक्ने बताए ।
 
‘कांग्रेसले एमसीसीलाई फेल हुन दिँदैन । एमसीसी फेल गराएर देशलाई अनिष्टको बाटोमा जान दिँदैन,’ पौडेलले भने, ‘सकेसम्म सहमतिबाट अघि बढौँ भनेर छलफल भइरहेको छ, टुंगो लागेको छैन । तर, पास गर्नुको विकल्प छैन ।’
 
नेता पौडेलले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई भेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विपक्षीका माग पूरा गर्छु भनेर अघि बढ्नुपर्ने अवस्थामा पुग्न बाध्य नपार्न आग्रह गरेको बताए ।
 
‘मैले उहाँहरूसँग छलफल गरिरहेको छु, र उहाँहरूलाई भनेको पनि छु,’ पौडेलले अघि भने, ‘प्रधानमन्त्रीका अघिल्तिर एमसीसी पास गर्न दुईवटा अप्सन छन् एउटा गठबन्धनमा सहमति गर्ने, अर्को विपक्षीको माग पूरा गर्ने । तपाईँहरू प्रधानमन्त्रीको प्रस्तावमा सहमत हुनुहोस्, नत्र प्रधानमन्त्रीले विपक्षीका माग पूरा गर्नुपर्ने अवस्था आउन सक्छ ।’