Trending :
 

एमसीसी अस्वीकृत हुने सम्भावना बढेपछि प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

फाल्गुण १३,२०७८

-आस्था न्यूज

फाल्गुन १३, २०७८ काठमाडौं ।
 
प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित गरिएको छ । आज एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
 
प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुन एक घण्टाअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश बोकेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका थिए । उक्त भेटको सुरुमा नै मन्त्री बडूले बैठक आइतबार १ गतेसम्मका लागि सार्न आग्रह गरेका थिए । सोही आग्रहअनुसार सभामुखले बैठक सारेका थिए ।
 
शुक्रबारको बैठकमा एमसीसीमाथि सामान्य छलफल गर्ने कार्यसूची तय थियो । छलफलमा एमसीसीको सैद्धान्तिक पक्षबारे सांसदहरूले धारणा तय थियो । सामान्य छलफलमा भाग लिने सांसद्लाई पाँच मिनेटको समय दिइने कार्यव्यवस्था समितिको बिहीबारको बैठकले नै तय गरिसकेको थियो ।
 
कार्यव्यवस्था समितिले बिहीबार बैठकको कार्यसूचीलाई अन्तिम रूप दिएपछि प्रधानमन्त्री देउवाले स्थगित गर्न संसद् बैठक आग्रह गरेका थिए ।
 
प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको मन्त्रीले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गर्नुपर्ने हुन्छ । जवाफ दिने मन्त्रीले निर्णयार्थ प्रस्तुत गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यसपछि सापकोटाले एमसीसी सम्झौतालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । उक्त प्रस्ताव ध्वनी मतबाट पारित गर्नका लागि निर्णयार्थ प्रस्तुत हुनेछ । तर, सत्ता गठबन्धनकै सांसदहरूले विरोध गरिरहेका छन् र त्यसमा मत विभाजन मागे सभामुखले प्रतिनिधिसभा नियमावली अनुसार मत विभाजन गर्नुपर्नेछ ।
 
सैद्धान्तिक छलफलपछि नै मतविभाजन भएर एमसीसी अस्वीकृत हुने सम्भावना देखेर प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सारिरहेका छन् ।