Trending :
 

एमसीसी पास गर्ने नाममा ओलीसँग अनैतिक सम्झौता नगरौंः माधव नेपाल

फाल्गुण १३,२०७८

-आस्था न्यूज

फागुन १३, २०७८ काठमाडौं ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको बताएका छन् । 
 
शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई बर्खास्त गर्नुपर्ने सर्त राखेकोमा दुःख व्यक्त गरे । उनले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधानहरु नसच्याएसम्म आफूहरु विपक्षमा रहने स्पष्ट पारेको पनि बताए ।
 
अध्यक्ष नेपालले भने ‘अनेकौँ जटिलताहरु देखा परेका छन् । मैले सूचना पाएसम्म विरुद्धमा मूभ गर्ने, त्यस्तो पनि कोसिस भइरहेको छ । त्यो पनि सर्त राखेर मात्रै । त्यो पनि कुनै सर्त होइन, हाम्रा पार्टीका कार्यकर्ता, नेताहरुलाई सांसदबाट बर्खास्त गर्नुपर्ने, सभामुखलाई बर्खास्त गर्नुपर्ने, महाअभियोग लगाउनु पर्ने यस्ता सर्त राखेर त्यसपछि मात्रै एमसीसीमा समर्थन गर्ने भन्ने कुराको प्रस्ताव केपी ओलीबाट आएको भन्ने कुराहरु छन् । यसले हामीलाई पनि चिन्तित बनाएको छ ।’
 
एमसीसीका कतिपय प्रावधान संशोधन गर्नुपर्ने उल्लेख गर्दै नेपालले भने, ‘हामीले एमसीसी प्रोजेक्टमा कतिपय कुराहरुलाई मिलाउनु पर्नेछ । नेपाल इन्डो प्यासिफक स्ट्राटेजीको अंग बन्न चाहँदैन । कुनै सैन्य रणनीतिमा, कसैको सुरक्षा रणनीतिअन्तर्गत नेपाललाई पार्न दिने पक्षमा छैनौँ । नेपालको भूमिलाई छिमेकी मुलुकहरुको विरुद्धमा प्रयोग हुने कुनै पनि आशंका नरहने कुराको प्रत्याभूति चाहन्छौँ । नेपालको असंलग्न परराष्ट्रनीतिमा हामी तटस्थ रहन चाहन्छौँ ।’
 
एमसीसी सम्झौता लागू हुँदा रोजगारीमा नेपालीको अधिकार कायम रहनुपर्ने र लेखा परीक्षणको अधिकारमा नेपालको अधिकार रहनुपर्ने नेपालले बताएका छन् । ‘यी सबै कुराको स्पष्टता नभएसम्म स्वभाविक रुपमा यथास्थितिमा हामी एमसीसी पास गर्ने पक्षमा छैनौँ । मैले प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई भनेको छु, हतारमा निर्णय नगर्नुस्, छलफल गर्नुस् र केपी ओलीसँग अनैतिक सम्झौता नगर्नुस्,’ नेपालले भने ।
 
एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफलको कार्यसूचि रहेको प्रतिनिधिसभाको आजको बैठक पनि सरकारले आइतबारसम्मका लागि स्थगित गरेको छ ।