पल्सर स्पोर्टस अवार्ड चैत ८ मा हुने

फाल्गुण १६,२०७८

-आस्था न्यूज

यस वर्षको पल्सर स्पोर्टस अवार्ड चैत ८ गते आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आईतबार पत्रकार सम्मेलन गरेर १८ औं संस्करणको अवार्डको मिति सार्वजनीक गरेको हो । 
मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले कोभिडका कारण गत वर्ष कमै मात्र प्रतियोगिता आयोजना भएका कारण यस वर्ष फरक स्वरुपमा अवार्ड गरिने बताए । उनले पछिल्ला १० वर्षमा नेपाली खेलकुदमा ईतिहास कायम गरेका व्यक्तिलाई सम्मानित गरिने बताए । 
 
आयोजकका अनुसार यस वर्ष सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल वार्ड, लाईफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र पिपल्स च्वाइस अवार्ड विधामा पुरस्कृत गरिनेछ । दशक अवार्ड भएका कारण यस वर्ष सर्वोत्कृष्ट युवा खेलाडीको विधा भने समावेश नगरिने आयोजकले जनाएको छ । 
 
मञ्चका महासचिव प्रज्वल ओलीले अवार्डका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक गृहकार्य सुरु गरिसकेको बताए । उनले दशक खेलाडी पुरुष, महिला, प्रशिक्षकको छनोट कार्य सुरु भइसकेको जानकारी दिए ।
 
ओलीका अनुसार पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विजेता कार्यक्रमकै दिन घोषणा गरिनेछ भने पिपल्स च्वाइस अवार्डका लागि भने छिटै मनोनयन सार्वजनिक गरिनेछ ।  
 
आयोजकका अनुसार दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।