एकीकृत समाजवादीको संसद्मा देखिएको उपस्थितिले एमाले आतङ्कित भयोः माधव नेपाल
-आस्था न्यूज
फागुन १७, २०७८ काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको संसद्मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष केपी ओली आतङ्कित भएको बताएका छन् । आफ्नो पार्टीलाई नै कारण देखाएर एमालेले संसद्मा तमासा देखाउँदै आएको उनको भनाइ छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर नेपालले आफ्नो पार्टी कानुन सम्मत रूपमा आयोगमा दर्ता भएर संसद्मा आएको बताए । तर पार्टीकै उपस्थितिले एमाले आतङ्कित भएको उनले दोहोर्याए । उनले एमसीसीको रटान लगाएर नथाक्ने एमाले अन्तिममा आएर एमसीसीको पक्ष तथा विपक्षमा नखुलेर तमासा देखाएको आरोप लगाए ।
‘एमालेले एमसीसीमा अन्त्यमा न समर्थन न विरोध गर्यो । एउटा तमासाको स्थिति बन्यो । जसले एमसीसी अघि बढाउन सारा कुरा गर्यो । उ मुकर्दशक भयो’, उनले भने, ‘ यो किन भयो भन्दा समाजवादीको अस्तित्वबाट आतङ्कित भएर । सांसदहरूको उपस्थितिबाट विचलित भएर । हामी वैधानिक रूपमा स्थापित भएको पार्टी हो ।’