आगामी संसद् बैठकमा जबरामाथिको महाअभियोगबारे छलफल हुने मन्त्री बडूको भनाई
-आस्था न्यूज
फागुन १८, २०७८ काठमाडौं ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले प्रतिनिधिसभाको आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगबारे छलफल हुने बताएका छन् । बुधबार संसद् भवनमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री बडूले जबरामाथिको महाअभियोग प्रस्तावले स्वाभाविक प्रक्रिया लिने बताएका हुन् ।
बडूले भने, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावले स्वाभाविक प्रक्रिया लिन्छ । हाम्रो नियमावलीको व्यवस्था छ, प्रस्ताव दर्ता भइसकेपछि ७ दिनपछिको कुनै पनि बैठकमा राख्ने । सबैसँग सल्लाह गरेर ११ जनाको महाअभियोग सिफारिस समिति बन्छ । त्यसपछि प्रक्रिया अगाडि जान्छ । प्रतिनिधि सभाको आउने बैठकमा अगाडि बढ्छ । यसबारे सल्लाह भइरहेको छ ।
महाअभियोग सिफारिस समितिमा सबै दलको प्रतिनिधित्व हुने भएकाले अहिले समय लिइरहेको पनि मन्त्री बडूले बताए । प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बोलाइएको छ ।
सत्तारुढ गबठन्धनले फागनु १ गते प्रधानन्यायाधीश जबराविरुद्व महाअभियोग दर्ता गराएका थियो । गठबन्धनसम्बद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले हस्ताक्षर गरेर महाअभियोग दर्ता गराएका हुन् ।