एमालेले सभामुख सापकोटाको नाम जोडेर भ्रम सृजना गरेकोप्रति सचिवालयको आपत्ति
-आस्था न्यूज
फागुन १८, २०७८ काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटा नाम जोडेर भ्रम सृजना गर्ने अफवाह फैलाउन खोजेको भन्दै नेकपा एमालेले गरेको टिप्पणीप्रति सभामुख सचिवालयले आपत्ति जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार जारी गरेको विज्ञप्तिमा सभामुख सापकोटाको भूमिकाको विषयलाई लिएर प्रश्न उठाएका थिए ।
‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ ।’
एमाले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख सापकोटाले एमसीसी टेबल गर्नुपरेमा आत्महत्या गर्छु भनेको विवरण छ ।
‘नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक छ’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।’
सभामुखको सचिवालयले ‘आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न अमर्यादित तथा अशोभनिय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध’ गरेको छ ।
एमालेका विज्ञप्तिमा भने संसद्मा सदस्यहरुको अवरोधलाई अनदेखा गरिएको, सभामुखले बलमिच्याइँ गरेको आरोप लगाइएको छ ।