अब एमसीसी कार्यान्वयनमा ध्यान दिन गठबन्धनलाई प्रधानमन्त्री देउवाको आग्रह
-आस्था न्यूज
फागुन १९, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग ९एमसीसी०सँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनको प्रक्रियामा सहयोगी सबैलाई धन्यवाद प्रकट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनमा सहयोग पुर्याउने सबै राजनीतिक दल र नेताहरूलाई धन्यवाद व्यक्त गरेका हुन् ।
‘हामी सबै एक ठाउँमा उभिएर एमसीसी अनुमोदन गरेका छौँ । अनुमोदनको प्रक्रियामा जसरी हामी सबै एक ठाउँमा उभिएका छौँ, अब यसको कार्यान्वयनमा समेत हामी सबै एक ठाउँमा उभिनुपर्नेछ,’ बैठकमा प्रधानमन्त्री देउवाले भनेका थिए ।
बैठकमा एमसीसी अनुमोदनका क्रममा गठबन्धनमा उत्पन्न खटपटको समीक्षा तथा समसामयिक राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीका विषयमा छलफल भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा भएको बताए ।
‘अहिलेको समसामयिक राजनीतिका बारेमा छलफल भयो,’ मन्त्री कार्कीले इकान्तिपुरसँग भने, ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गरिरहेको छ । त्यसकारण संसद्ले गर्नुपर्ने अत्यावश्यक कामहरू हुन पाएका छैनन् । महत्त्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने आवश्यक छ । तर, त्यसको प्रक्रिया अघि बढाउन सकिएको छैन । त्यसैले बैठकले प्रमुख प्रतिपक्षी दलसँग संसद्मा जारी अवरोध हटाउन आह्वान गरेको छ ।’
सत्ता गठबन्धनमा लामो छलफल र रस्साकस्सीपछि आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो ।