अस्ट्रेलियाका क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन

फाल्गुण २१,२०७८

-आस्था न्यूज

फागुन २१, २०७८ काठमाडौं।
 
विश्वकै सफल क्रिकेटर अस्ट्रेलियाका शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । उनको हिजो थाइल्यान्डमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 
अस्ट्रेलिया क्रिकेटका अर्का पूर्व खेलाडी रड मार्सको निधन भएको केही घण्टापछि वार्नको पनि निधनको खबर आएको हो । वार्नलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । लेगस्पिनर वार्नले अस्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडीआई खेलेका थिए ।
 
उनले टेस्टमा ७ सय ८ विकेट र ओडीआईमा २ सय ९३ विकेट लिएका थिए । टेस्टमा वार्न श्रीलङ्का स्पिनर मथैया मुरलीधरनको ८ सय विकेटपछि सर्वाधिक विकेट लिने बलर समेत हुन् । वार्न सन् १९९२ देखि २००५ सम्म विश्व क्रिकेटका उत्कृष्ट स्पिनर थिए ।
 
सन् १९९९ मा अस्ट्रेलियालाई विश्व कप जिताउन उनले उत्कृष्ट प्रदर्शन गर्दै २० विकेट लिएका थिए । वार्नले सन् १९९२ मा भारतविरुद्ध टेस्ट क्रिकेटमा सिड्नीमा डेब्यु गरेका थिए । सन् २००७ मा सिड्नीमै इङ्ग्ल्यान्डसँग अन्तिम टेस्ट खेल खेलेका थिए।
 
उनले इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्स र बिग बासमा मेलवर्न स्टार्सका लागि समेत खेलेका थिए ।