हिमालयन शेर्पा खप्तड गोल्डकपको क्वाटरफाइनलमा

फाल्गुण २२,२०७८

-आस्था न्यूज

फागुन २२, २०७८ काठमाडौं ।
 
हिमालयन शेर्पा क्लबले पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा शनिबार सिमराको नव जनजागृति युवा क्लबलाई ४–० ले पराजित गरेको छ ।
 
धनगढी रंगशालामा जितसँगै हिमालयन शेर्पा क्वाटरफाइनल पुगेको छ । सेमिफाइनल पुग्नका लागि टोलीले सोमबार आयोजक सुदूरपश्चिम एघार स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार एकतर्फी खेलमा ३१ औं मिनेटमा विकास मेराग्लियाको गोलबाट हिमालयनले अग्रता लिएको थियो ।
 
उनले डेब्यु खेलमै हिमालयनबाट गोल गरेका हुन् । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका विकासले च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए । मोफसलका लागि उनी हिमालयनमा आबद्ध भएका हुन् । उनले लिगमा गोल गर्न सकेनन् ।
 
खेलको ४३ औं मिनेटमा उलरिच सिवेले गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए । उनैले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन ३–० ले अघि बढ्यो । त्यसपछि ८१ औं मिनेटमा पूर्णबहादुर गुरुङले गरेको गोलसँगै हिमालयन शेर्पाले ४–० को नतिजा निकाल्यो । म्यान अफ द म्याच उलरिच सिवे भए । उनले १० हजार रुपैयाँ पाए ।
 
हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले राम्रो खेल प्रदर्शन गरेका कारण सानदार जित निस्केको बताए ।