माओवादी केन्द्रीय समिति बैठक स्थगित
-आस्था न्यूज
फागुन २२, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्ततः स्थगित गरिएको हो । बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएपनि बैठक स्थगित गरिएको एक नेताले बताए ।
आजै बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि स्थान नै परिवर्तन गरेर तय गरिएकामा फेरि सोमबारसम्मका लागि स्थगित गरिएको हो । अर्को बैठक अब सोमबार बिहान ११ बजे बस्ने तय भएको ती नेताको भनाइ छ ।
शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । सो क्रममा एमसीसी पास गराउन पार्टीले गरेको सहयोगको श्रेष्ठले आलोचना गरेका थिए भने प्रचण्डले बचाउ गरेका थिए ।
आजको बैठकमा सांगठनिक विषयमा छलफल हुने कार्यसूची रहेको थियो । जसमा केन्द्रीय कमिटीको पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने रहेको छ ।
तर, पदाधिकारी चयनका सम्बन्धमा नेताहरुबीच भागबण्डा नमिलेपछि बैठक नै स्थगित भएको बताइएको छ । पदाधिकारीमा त्यसमा पनि महासचिवमा माओवादीभित्र हानथाप छ । तर आन्तरिक समीकरण मिलाउन नसक्दा माओवादीभित्र पदाधिकारी चयनमा सकस देखिएको छ । माओवादीको महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाललगायतको दाबेदारी छ ।
माओवादी केन्द्रको पदाधिकारीमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान छ । तर अहिले अन्य पदभन्दा पनि सो पार्टीमा महासचिव को बन्ने भन्नेमै सबैको चासो देखिएको हो ।