संसदमा एमालेको दोहोरो शैलीः बैठक अस्वीकार, जबरा महाअभियोग सिफारिस समितिमा भने प्रतिनिधित्व
-आस्था न्यूज
फागुन २२, २०७८ काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६ महिनादेखि संसद् अवरुद्ध गरिरहेको छ । उसको शैली भने दोहोरो छ । संसद्कै अंगको रुपमा रहेका संसदीय समितिहरुलाई स्विकारेको छ भने मूल बैठक अवरोध गरिरहेको छ ।
सधैंजस्तो आइतबार पनि एमालेले मूल बैठक अवरोध गर्यो । तर, आफैंले अवरोधको गरेको प्रतिनिधिसभाको बैठकबाट घोषणा गरेको महाअभियोग सिफारिस समितिमा भने आफ्नो प्रतिनिधित्व स्विकार्यो ।
आइतबार गठित ११ सदस्यीय समितिमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका ४ जना सांसदहरुको सहभागिता छ । जसमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेल सदस्य छन् ।
मूल बैठक अवरुद्ध गर्ने र मिनी संसद्ु भनिने समितिमा एमालेको ‘सहभागिता’ प्रति प्रमुख सचेतक विशाल भट्टराईले विगतको नीतिकै निरन्तरता भएको दाबी गरे । ‘विगतमा पनि हामीले समितिको बैठकमा निरन्तर रुपमा भाग लिँदै आएका छौैं । हाम्रो संसद्को बैठकमा विरोध जारी छ । यो कुनै नौलो कुरा नै होइन,’ भट्टराईले भने ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध फागुन १ गतेमा सत्तारुढ गठबन्धनका ९८ जना सांसदहरुले महाअभियोग गर्दा गरेका थिए । जसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुको हस्ताक्षर रहेको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले समितिमा एमालेले प्रतिनिधि पठाउनुले संसदीय प्रक्रियामा सहभागिता भएको संकेत भएको बताए ।