Trending :
 

सत्ता गठबन्धन चुनाव रोक्न खोजेको नेम्वाङको आरोप

फाल्गुण २२,२०७८

-आस्था न्यूज

फागुन २२, २०७८ काठमाडौं ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले ‘अर्ली इलेक्सन’ को विषय सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव सार्ने नियतले आएको हुनसक्ने बताएका छन् ।
 
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले विभिन्न पक्षको दबाबको कारण सरकार स्थानीय तह चुनावको मिति तोक्ने बाध्य भएको भन्दै त्यसलाई सार्ने बहाना बनाउन खोजिएको बताए ।
 
चुनाव गर्नका लागि हो कि भत्काउनका लागि हो रु स्थानीय तहको चुनावको घोषणा सत्तारुढ गठबन्धनको चाहानाले गरेको होइन बाध्यताले गरेको हो’ नेम्वाङले भने, ‘उहाँहरुले त्यसलाई रोक्न चाहानु भएको थियो । प्रतिनिधिसभाको चुनावसहित विभिन्न बहानामा चुनाव रोक्न खोजिएको हो ।’
 
यसअघि सत्तारुढ गठबन्धनमध्ये एउटा दल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले संसद्‍मा एमालेले अवरोध जारी राखे अर्ली इलेक्सनमा जाने बताएका थिए । उक्त प्रसंग कोट्याउँदै नेता नेम्वाङले अहिले अर्ली इलेक्सनको कुरा अचानक ल्याइएको भन्दै त्यसमाथि आशंका उब्जिएको बताए ।
 
‘पहिलो चाँडो चुनावमा जाउँ भन्दा प्रतिगमन भन्ने साथीहरुले अहिले अचानक यो ढंगले किन यस्तो सोचाइ ल्याइरहेका छन् । कतै हेरेर कतै हिर्काउने काम भएको छ’ नेम्वाङले भने ‘यसले सत्तारुढ गठबन्धनको हिँडाइ सोझो छैन भन्ने देखाउँछ । स्थानीय तहको चुनावलाई भत्काउन लाग्नु भएको छ । धकेल्ने, पर पुर्‍याउने र गडबड गर्ने लगायतको कुरा हुनसक्छ ।’