कांग्रेसमा १६ मध्ये आठ जिल्लाको सभापति चयन
-आस्था न्यूज
फागुन २२, २०७८ काठमाडौं ।
पछिल्लो चरणमा नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन् ।
तीमध्ये धेरैजसोमा आफ्नो पक्षले जितेको नेता डा. शेखर कोइराला पक्षको दावी छ । चितवन, सिन्धुली, बाँके र नवलपुरमा नेता शेखर पक्षका उम्मेदवार विजयी भएका हुन् ।
चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा विजयी महेन्द्रध्वज जिसी संस्थापनइतरका हुन् । महोत्तरी जिल्ला सभापतिमा निर्वाचित नागेश्वर यादवले आफू स्वतन्त्र भएको दावी गरेका छन् भने शेखर कोइराला पक्षले आफूहरूले सहयोग गरेको बताएका छन् ।
पाँच जनाबीच प्रतिस्पर्धा हुँदा चितवन जिल्ला सभापतिमा कसैले बहुमत पाएका थिएनन् । संस्थापनइतरका खनालले धेरै मत पाए भने संस्थापन पक्षका मिलनबाबु श्रेष्ठ दोस्रो भए । तर, श्रेष्ठले समर्थन गरेपछि खनाल सभापति निर्वाचित भए ।
तीन उम्मेदवारमध्ये कसैले बहुमत नल्याएपछि बाँकेमा पनि दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा गौडेलले संस्थापन पक्षका बादशाह कुर्मीलाई पराजित गरेका थिए ।
नवलपुरमा सभापतिका अर्का आकांक्षी बालकृष्ण घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि शेखर पक्षका जिसी निर्विरोध सभापतिमा चयन भएका थिए ।
सिन्धुलीमा पनि दोस्रो चरणको मतदानबाट सभापति चयन भएको हो । संस्थापनइतर पक्षका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा उपेन्द्रकुमार पोखरेलले उज्ज्वलप्रसाद बराललाई पराजित गरे । बराल निवर्तमान सभापतिसमेत हुन् ।
महोत्तरीमा पनि पहिलो चरणमा कसैको बहुमत नआएपछि दोस्रो स्थानमा रहेका सुशील यादवले समर्थन गरेपछि पहिलो स्थानमा रहेका नागेश्वर यादव स्वतः सभापति चुनिएका थिए ।