एमसीसीलाई मुलुकको सार्वभौमिकतासँग जोड्न नमिल्ने मन्त्री झाँक्रीको भनाई
-आस्था न्यूज
फागुन २४, २०७८ काठमाडौं ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना एमसीसीलाई मुलुकको सार्वभौमिकतासँग जोड्न नमिल्ने बताएकी छन् ।
विश्वका धेरै देशले सो सम्झौता स्वीकार गरेको भन्दै उनले ती देशले कुरा नबुझी एमसीसी स्वीकार गरेका हुन् त भनी प्रश्न गरिन् ।
नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले विश्वका आधा दुनिँयामा एमसीसी लागू भएको तर नेपालमा सार्वभौमिकताको कुरा उठाएर चिन्ता लिनु आवश्यक नभएको बताइन् ।
‘एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त?’ मन्त्री झाँक्रीले भनिन् ।
उनले अघि भनिन्, ‘त्यो हो भने त हामी भन्दा अर्को आधा दुनियाँमा त हुन्छ (एमसीसी स्वीकार गर्न हुन्छ) भन्ने छ नि त । उनीहरुले के कुरा नबुझेको हो ? हामी मात्रै सोभरेन्टी (सार्वभौमसत्ता) को लागि यति साह्रै चिन्तित भएको हो त ? त्यसो त नहोला ।’
मन्त्री झाँक्रीले एमसीसी संसदमा छलफल भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि बताइन् ।