Trending :
 

गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन्ः माधव नेपाल

फाल्गुण २५,२०७८

-आस्था न्यूज

फागुन २५, २०७८ काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको बताएका छन् ।
 
काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले भने, ‘गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास छ । तर, गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन् ।’
 
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने बेलामै गठबन्धन फुटाउन खोजेको तर ब्याख्यात्मक घोषणामार्फत एमसीसी अनुमोदन गरेर गठबन्धन बचाउन सफल भएको उनको भनाइ छ ।
 
‘एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास भएको थियो, सुरुमा (एमसीसी) संसदमा लैजाने केपी ओली नै हो । अहिले निःशर्त समर्थन गर्ने पनि ओली नै हो’ अध्यक्ष नेपालले भने ।
 
अध्यक्ष नेपालले एमसीसीमा ब्याख्यात्मक घोषणा भएकाले पार्टीले उठाउँदै आएको एजेण्डा सम्बोधन भएको रुपमा बुझ्न समेत नेतारकार्यकर्तालाई आग्रह गरेका छन् । ‘एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ’ उनले भने ।
 
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीसँगको लडाईं आफूहरुले जित्दै आएको पनि बताएका छन् । एमालेमै रहेर केपी ओलीविरुद्ध उम्मेदवार खडा गरेर बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यलाई जिताउन सफल भएको उनले बताए ।