पञ्जाबको विधानसभा चुनावमा आम आदमी पार्टीको जित

फाल्गुण २७,२०७८

-आस्था न्यूज

फागुन २७, २०७८ काठमाडौं ।
 
भारतीय राज्य पञ्जाबको विधानसभा चुनावमा आम आदमी पार्टी (आप) ले चामत्कारिक जित हासिल गरेको छ । पार्टी निर्माण भएको १० वर्षमा दिल्लीपछि पञ्जाबमा आपको सरकार बन्ने भएको हो । उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) आफ्नो वर्चस्व कायमै राख्न सफल भएको छ । 
 
 
पञ्जाबमा ११७ सदस्यीय विधानसभामा आपले दुई तिहाइभन्दा बढी ९२ सिट जितेको छ । सत्तारूढ कंग्रेस १८ सिटमा खुम्चिएको छ । आपका भगवन्तसिंह मान मुख्यमन्त्री बन्दै छन् । पञ्जाबमा दिग्गज मानिएका नेताहरू वर्तमान मुख्यमन्त्री चरणजित सिंह चन्नी, पूर्वमुख्यमन्त्री अमरिन्दर सिंह, नवजोत सिंह सिद्धु, प्रकाशसिंह बादलजस्ता नेता आपका उम्मेदवारसँग पराजित भएका छन् । भाजपाले २, शिरोमणि अकाली दलले ४ र अन्यले १ सिट हात पारेका छन् ।
 
 
दिल्लीवासीले मुख्यमन्त्री एवं आपका संयोजक अरविन्द केजरीवालको नेतृत्वमाथि देखाएको भरोसालाई नै पञ्जाब जितको महत्त्वपूर्ण कारण मानिएको छ । दिल्लीका जनताले सन् २०१३ यताका तीनवटै निर्वाचनमा केजरीवाललाई साथ दिएका छन् । केजरीवालले पञ्जाबका जनतासँग पनि एक मौका दिन अनुरोध गर्दै मत मागेका थिए । चुनावी अभियानमा धेरै समय पञ्जाबलाई दिएका केजरीवालले भ्रष्टाचार शून्यमा झार्ने र त्यही पैसा पञ्जाबको विकास र आममानिसलाई राहत दिन प्रयोग गर्ने बताएका थिए ।
 
उनले राम्रो सरकारी विद्यालय र अस्पताल बनाउने, निःशुल्क बिजुली र पानी उपलब्ध गराउने, १८ वर्षमाथिका हरेक महिलालाई प्रतिमहिना एक हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता गरेका छन् ।
 
केजरीवाल दिल्लीमा ७ वर्षभन्दा बढी समयदेखि मुख्यमन्त्री छन् । यस अवधिमा उनीमाथि भ्रष्टाचारको आरोप लागेको छैन । चुनावअघि दिएका नारालाई धेरै हदसम्म पूरा गरेका छन् । अन्ना हजारेको सामाजिक आन्दोलनमा सक्रिय कार्यकर्ता रहेका केजरीवालले सन् २०१२ नोभेम्बर २६ मा आम आदमी पार्टी गठन गरेका थिए । उनको पार्टीको नामले नै साधारण मानिसलाई प्रभाव पार्‍यो । 
 
मुख्यमन्त्री भएपछि पनि केजरीवालको बोलीचाली, रहनसहन र पहिरन पार्टीको नामजस्तै आममानिसको सरह छ । यसले पनि सर्वसाधारण मतदातालाई आकर्षित गरेको मानिन्छ । केजरीवालले चुनावी अभियानमा परम्परागत राजनीतिक दलहरू कंग्रेस, भाजपा वा पुराना क्षेत्रीय दलले अपनाउने रणनीतिभन्दा बिल्कुल फरक आममानिसलाई छुने व्यवहार देखाएका थिए । विपक्षी पार्टीसँग उनीमाथि औंला उठाउन सक्ने ठोस विषय नहुनु पनि जितको महत्त्वपूर्ण आधार बन्न पुग्यो ।
 
अर्कातिर टिकट वितरण तथा प्रस्तावित मुख्यमन्त्रीको चयन प्रक्रियामा देखिएको रणनीतिले मतदातालाई प्रभाव पार्‍यो । विधानसभा चुनावमा सम्बन्धित क्षेत्रबाट इच्छुक उम्मेदवारको नाम मागेर पारदर्शी तरिकाले टिकट वितरण गर्ने, पार्टीका तर्फबाट प्रस्तावित मुख्यमन्त्रीमाथि आममानिसको राय लिएर निर्णय दिने जस्ता केजरीवालको व्यवहार मतदाताले रुचाए । आपले नेता भगवन्त सिंहलाई २२ लाख जनताको मतको निर्णयका आधारमा प्रस्तावित मुख्यमन्त्रीका रूपमा अघि सारेको थियो ।