खप्तड गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीले हात पार्‍यो

फाल्गुण २९,२०७८

-आस्था न्यूज

फागुन २९, २०७८ काठमाडौं ।
 
मनाङ मर्स्याङ्दी क्लबले पाँचौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।
 
मनाङले दोस्रोपल्ट खप्तड गोल्डकप जितेको हो । मनाङले पहिलो संस्करणमा सफलता पाएको थियो । मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले १–१ गोल गरेका थिए । फ्रेन्ड्स क्लबबाट जमोइल एन्थोनी फ्रान्कोइसले एक गोल फर्काए ।
 
खेलको २२ औं मिनेटमा दिनेशले फ्रि–किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए । त्यसअघि १९ औं मिनेटमा फ्रेन्ड्सका फ्रान्कोइस पेनाल्टीबाट गोल गर्ने अवसरबाट चुकेका थिए । उनको प्रहार मनाङका गोलकिपर विशाल सुनारले बचाएका थिए । पहिलो हाफमा पेनाल्टी गुमाएका फ्रान्कोइसले दोस्रो हाफको ५१ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए । २० मिनेटको अन्तरालमा मनाङले दोस्रो गोल गरेर अग्रता लियो । खेलको ७२ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए ।
 
खेलको ८६ औं मिनेटमा विवादका कारण मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।
 
खेलको इन्ज्युरी समयमा मौसाले गोल थप्दै मनाङलाई ३–१ को जित दिलाए ।
 
उपाधिसँगै मनाङले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता ललितपुरको फ्रेन्ड्सले १० लाख पायो ।
 
मनाङका शिशिर लेखी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले एक लाख रुपैयाँ पाए । मनाङकै विशाल सुनार उत्कृष्ट गोलरक्षक, राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक र मौसा अबागाना उत्कृष्ट मिडफिल्डर भए । फ्रेन्ड्सका सुरज विश्वकर्मा उत्कृष्ट रक्षक र जमोइल एन्थोनी फ्रान्कोइस सर्वाधिक गोलकर्ता भए । सुदूरपश्चिम ११ का फागुराम चौधरी उदीयमान खेलाडी भए । उत्कृष्ट उनीहरूले जनही २० हजार पाएका छन् ।
 
विजयी खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुरस्कृत गरे । आयोजक सुदूरपश्चिम ११ का अध्यक्ष सुरेश हमालको अध्यक्षतामा प्रतियोगिता समापन गरिएको थियो ।