Trending :
 

एमसीसी फेल भए राजीनामा दिन्छुः प्रचण्ड

फाल्गुण २९,२०७८

-आस्था न्यूज

फागुन २९, २०७८ काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आगामी जेठ २० गते बस्ने बैठकमा एमसीसी सम्झौताबारे छलफल गर्ने र त्यसमा एमसीसी फेल भए आफूले राजीनामा दिने बताएका छन् । 
 
प्रदेश १ मा पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुने जाने क्रममा आइतबार अध्यक्ष दाहालले भने, स्थानीय चुनावपछि एमसीसी सम्झौताबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुहोला । उनले माओवादी केन्द्रको अध्यक्ष पदबाट राजीनामा दिने बताएका हुन् ।
 
प्रतिनिधिसभाबाट ब्याख्यात्मक टिप्पणीसहित पारित भएपछि माओवादीले एमसीसी सम्झौताबारे छलफल गर्ने भएको छ । एमसीसी सम्झौता पारित गरेकोप्रति माओवादीभित्र विवाद रहेको छ । एमसीसी सम्झौतालाई लिएर कतिपय नेता र कार्यकर्ताले पार्टी परित्याग गरिरहेका छन् । तर, एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गर्ने माओवादी छोडेर जस्ताको तस्तै पारित गर्ने एमालेमा प्रवेश गर्न लागेकोप्रति दाहालले असन्तुष्टि व्यक्त गरेका छन् ।
 
संसद्मा एमालेको अवरोधलाई लिएर पनि दाहालले असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, विघटनकारी विचार र विघनकारी शक्तिहरू अहिले पनि संसद् विघटनको पक्षमा छन् । बिना कुनै प्रमाण, तथ्य, तर्क सदन अवरोध भएको छ । जसले पटक(पटक सदन अवरुद्ध गर्ने दुस्साहस गरेर अहिले पनि विघटन गर्न खोजिरहेका छन् ।
 
पार्टी विभाजन भएको विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले संसद्बाट केही निकास नआउने दाहालको भनाइ थियो ।