Trending :
 

हरेक वर्ष १० प्रतिशतले निर्यात थप्न सके अर्थतन्त्र सन्तुलनमा आउन समस्या छैनःअर्थमन्त्री

फाल्गुण २९,२०७८

-आस्था न्यूज

फागुन २९, २०७८ काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताएका छन् । आइतबार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेका बताएका हुन् । 
 
नेपाल राष्ट्र बैंकले विभिन्न बस्तुको आयातमा प्रतिबन्ध तथा केहि वस्तु आयातमा मार्जिनको व्यवस्था गर्दा अर्थतन्त्रमा चुनौती देखिएको भए पनि समस्या समाधान गर्न सीमित समयको यस प्रकारको व्यवस्था लागु गरिएको बताए । मन्त्री शर्माले यो व्यवस्था अर्थतन्त्रको स्थिति सहज हुनासाथ हट्ने स्पष्ट पारे । भन्सारमा पछिल्लो समय वैधानिक बाटोबाट भन्दा पनि अवैध बाटोबाट वस्तु आयात हुने गरेको मन्त्री शर्माले बताए । 
 
उनले अवैध आयात रोक्नका लागि भन्सार विभाग मात्रै नभएर सरकारका सबै निकायले अनुगमन गर्नु पर्ने पनि बताए । अर्थमन्त्री शर्माले भन्सारमा व्यापार सहजीकरण गर्नको लागि नीतिगत व्यवस्थाहरु स्पष्ट नभएकाले स्पष्ट नीति आवश्यक भएको बताए । उनले पछिल्लो समय निर्यातमा केही वृद्धि भएर १ खर्ब ३१ अर्ब पुगे पनि कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत पुगेको बताए । 
 
अब सरकारले विभिन्न नीति योजनाहरू मार्फत हरेक वर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै जानुपर्ने आवश्यकता रहेको जिकिर गरे । सरकारले हरेक वर्ष १० प्रतिशत निर्यात नबढाए मुलुकको व्यापार घाटालाई कम गर्न र अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन नसकिने मन्त्री शर्माको भनाइ छ ।
 
अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएको बताए । उनले चालु आर्थिक वर्षको पछिल्लो समयमा विभिन्न वस्तु आयातमा प्रतिबन्ध लगाए पनि लक्ष्य अनुसार नै राजश्व संकलन हुने विश्वास व्यक्त गरे ।