Trending :
 

जनताको दुःख हटाउने काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

फाल्गुण २९,२०७८

-आस्था न्यूज

फागुन २९, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जनताको दुःख हटाउने गरी काम गर्न आग्रह गरेका छन् । नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहका गतिविधि हेरेर नै जनताले सरकारप्रतिको धारणा बनाउने बताए ।
 
‘स्थानीय तह नै जनताको नजिकको सरकार हो । स्थानीय तहका गतिविधिकै आधारमा जनताले सरकारप्रतिको धारणा बनाउने हो,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले जनताको मन जित्ने गरी काम गर्नुस् । जनताका दुःखकष्ट हटाइदिनुस् ।’
 
उनले सबै नगरपालिकाहरूलाई सहरको मौलिक पक्षमा नकारात्मक असर नपर्ने गरी स्वच्छ, सफा र सुरक्षित सहरको रुपमा विकास गर्नुपर्ने बताए ।
 
प्रधानमन्त्री देउवाले स्थानीय तह भन्ने वा स्थानीय सरकार भन्ने विषयमा प्रश्न उठेको भन्दै त्यो अप्ठ्यारो कुरा नभएको बताए । ‘स्थानीय तह भन्ने कि सरकार भन्ने भनेर प्रश्न उठाउनुभयो, तर नाम होइन, काम गर्ने कुरा मुख्य हो । स्थानीय सरकारभन्दा चित्त बुझ्छ भने सरकार नै भनौं । सबै पार्टीलाई सहमतिमा ल्याएर कहाँ-कहाँ संशोधन गर्ने हो, त्यो पनि गरौंला,’ उनले भने, ‘मुख्य कुरा भनेको सेवा प्रवाह हो । जनताको दुःख हटाउने काम गर्नुहोस् । तह शब्द हटाइदिउँला । जनतालाई प्रत्यक्ष सहभागी गराएर विकास गर्नुहोस् ।’
 
प्रधानमन्त्री देउवाले स्थानीय नीति निर्माण र कार्यान्वयनमा समेत जनतालाई सहभागी गराउन आग्रह गरे ।