ला लिगामा बार्सिलोनाको लगातार चौथो जीत

फाल्गुण ३०,२०७८

-आस्था न्यूज

फागुन ३०, २०७८ काठमाडौं । 
 
फेरान टोरेसको दुई गोलको मद्दतले बार्सिलोनाले ओसासुनामाथि ४-० को शानदार जीत हासिल गरेको छ । ला लिगामा बार्सिलोनाको लगातार चौथो जीत हो । जीतसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
 
बार्सिलोनाका लागि म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर फेरान टोरेसले दुई गोल गरे । खेलको १४ औँ मिनेटमा पेनाल्टीबाट बार्सालाई अग्रता दिलाएका टोरेसले २१ औँ मिनेटमा अग्रता दोब्बर बनाए । २७ औँ मिनेटमा पिएरे एमरिक आउबामियाङले तेस्रो गोल थपे । 
 
आर्सनलबाट बार्सिलोना आएपछि आउबामियाङले ६ खेलमा ५ गोल गरिसकेका छन् । दोस्रो हाफमा रिकी पुइगले अर्को गोल थप्दै बार्सालाई शानदार जीत दिलाए । २७ खेलबाट बार्सिलोनाको ५१ अङ्क रहेको छ ।