खाद्य पदार्थको मूल्य वृद्धिले सङ्कट बढ्ने खतरा: विश्वव्यापार संघ

चैत्र ११,२०७८

-आस्था न्यूज

चैत ११, २०७८ काठमाडौं ।
विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेनमा जारी युद्धका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दाबी गरेकी छिन् । बेलायती पत्रिका गार्जियनसँगको अन्तरवार्तामा उनले यस्तो खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा रहेको बताइन् ।
 
उनले खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि चेतावनी दिइन् । ‘यस बारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ, यसको असर विषेश गरेर गरिब मुलुकहरूमा बढी पर्दछ,’ उनले भनिन् ।
 
खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य सङ्कटका कारण ठूलो मानवीय क्षति समेत हुन सक्ने पनि उनको चिन्ता छ । विश्वका धेरै देशमा खाद्य सङ्कटसँगै उर्जा सङ्कट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने भन्दै उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावले यसलाई बढाउने बताइन् ।
 
महानिर्देशक ओकोन्जोले दुवै सङ्कटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यस तर्फ विश्वको ध्यान जानु पर्नेमा जोड दिइन् ।