७ वर्षपछि रोल्पामा प्रचण्ड :
आफ्नै बलमा स्थानिय निर्वाचनमा भाग लिने प्रचण्डको भनाई
-आस्था न्यूज
चैत १४, २०७८ काठमाडौं ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने बताएका छन् ।
७ वर्षपछि रोल्पा पुगेका दाहालले निर्वाचनका बेला अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि नगरिने बताए । पार्टीका प्रवक्ता कृष्णबहादुर महराका घरमा सोमबार आयोजित पत्रकार भेटघाटमा दाहालले भने, आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं ।
आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्छौं । महाधिवेशन र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेकाले निर्वाचनमा आफ्नो जित हासिल हुनेमा विश्वास भएको दाबी समेत उनले गरे।
आफ्नै नेतृत्वमा २०५२ फागुन १ मा माओवादी सशस्त्र द्वन्द्वको सुरुआत गरेको जिल्ला रोल्पामा आयोजित जनसभालाई सम्बोधन गर्न आएका दाहालले निर्वाचनमा गठबन्धन र तालमेल गर्न सकिने निर्णय पनि गरिएको बताए ।
गठबन्धनमा भर परेर निर्वाचन लड्ने हैन, आफ्नै शक्तिमा निर्वाचन लड्ने हो । किनभने अहिलेको गठबन्धन विशेष राजनीतिक परिस्थितिमा बनेको हो, उनले भने ।
दाहालले रोल्पा नगरपालिकाले सातदोबाटोमा करिब ६ करोडमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन समेत गरे । उनले आफूले नेतृत्व गरेको जनयुद्ध रोल्पाबाट सुरु गरेको र ठूलो राजनीतिक परिवर्तन गरेको दाबी गरे । यो टावरले युद्धमा ज्यान गुमाएका योद्धाको स्मरण गर्न सिकाएको छु, उनले भने ।