स्थानीय निर्वाचनमा राप्रपा र एमालेको गठबन्धन हुनसक्छः कमल थापा
-आस्था न्यूज
चैत १५, २०७८ काठमाडौं ।
आउँदो स्थानीय निर्वाचनमा एमोलेसँगको गठबन्धनको तयारी भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको प्रयास भएको बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यसपटकको निर्वाचनबाट धेरै अपेक्षा नरहेको बताउँदै पार्टीलाई खुट्टा टेकाउन मात्रै खोजेको बताए ।
स्थानीय निर्वाचनमा सहकार्य गर्ने कुरामा एमालेसँग प्रारम्भिक चरणको कुरा भएको छ, उनले भने,राष्ट्रियतासहितका विभिन्न सवालमा एमालेसँग निकट भएको महशुस गरेका छौं । सम्भव भयो भने सहकार्य गरेर जाने हाम्रो प्रयास हुनेछ ।
यो निर्वाचनमा राजनीतिक दलहरुबीचमा गठबन्धन, सहकार्य संविधानलेनै अपेक्षा गरेकाले चुनावी तालमेल हुनु स्वभाविक भएको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर खुल्ला राजनीतिमा आउन चेतावनी दिएका छन् । राप्रपालाई रिमोट कन्ट्रोलबाट चलाउन खोजेको आरोप लगाउँदै दल गठन गरेर प्रतिष्पर्धामा आउन चुनौती दिएका छन् ।
ज्ञानेन्द्र शाहकै कारण राजसंस्था पुर्नस्थापनाको ढोका बन्द हुने अवस्थामा पुगेको बताए । पूर्वराजासँग २०७३ सालपछि संविधान च्यातेर राजसंस्थाको पक्षमा विद्रोह हुन थालेपछि तिक्तता बढेको बताए ।