Trending :
 

भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छः प्रचण्ड

चैत्र १६,२०७८

-आस्था न्यूज

चैत १६, २०७८ काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन हुने बताएका छन् । साथै भरतपुर महानगरपालिकाको मेयरमा पनि माओवादीको दाबी रहने उनले बताएका छन् । 
 
भरतपुर विमानस्थलमा बुधबार बिहान पत्रकारहरुसँग कुरा गर्दै दाहालले स्थानीय चुनावमा आवश्यक तालमेल हुने बताए । नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल हुन सक्ने निर्णय गरेको थियो ।
 
‘महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै तालमेल गर्ने छलफल चलेको छ । भोलि हाम्रो गठबन्धनको बैठक बस्दै छ । सम्भवतः महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं । तालमेलकै निर्णय हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ,’ दाहालले भने ।
 
यसअघिको स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । माओवादीबाट दाहालकी छोरी रेणु दाहाल मेयरमा निर्वाचित भएकी थिइन् भने कांग्रेसकी पार्वती शाह उपमेयरमा निर्वाचित भएकी थिइन् ।