दलहरुलाई उम्मेदवार तय गर्दा समावेशिता ख्याल गर्न निर्देशन
-आस्था न्यूज
चैत्र १६, २०७८ काठमाडौं ।
निर्वाचन आयोगले राजनीतिक दलहरुलाई उम्मेदवार तय गर्दा समावेशिता ख्याल गर्न निर्देशन दिएको छ ।
बुधबार दलहरुको नाममा १२ बुँदे निर्देशन जारी गर्दै आयोगले लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न आग्रह गरेको हो ।
स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये एक पदमा महिलाको मनोनयन गर्नुपर्ने व्यवस्था रहेको पनि आयोगले स्मरण गराएको छ ।
त्यस्तै २०७४ मा १७५ दलित महिला वडा सदस्य पदमा उम्मेदवारी नै नपरेको भन्दै आयोगले भनेको छ, ‘‘प्रचलित कानून बमोजिम सम्पूर्ण वडामा दलित महिलाको उम्मेदवारी हुने व्यवस्थाका लागि अवश्यक पहल गर्ने ।’
राजनीतिक दललाई सामाजिक सञ्जाल प्रयोग गर्दा महिला तथा समावेशी समूहका व्यक्तिको भावनामा नकारात्मक असर पर्ने गरी गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न पनि आयोगले आग्रह गरेको छ ।
आयोगबाट राजनीतिक दलहरुलाई निर्देशन
नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३, निर्वाचन आयोगको तेश्रो पञ्चवर्षीय रणनीतिक योजना २०७६/७७-२०८०/८१ र निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७ मा भएका व्यवस्था बमोजिम स्थानीय तह निर्वाचन, २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैंगिक तथा समावेशी बनाई महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा आ-आफ्नो तर्फबाट तपशिल बमोजिम गर्न गराउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिन दर्ता भएका राजनीतिक दलहरुलाई निर्देशन दिइएको छ ।