Trending :
 

चुनावमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

चैत्र १७,२०७८

-आस्था न्यूज

चैत १७, २०७८ काठमाडौं।
स्थानीय तहको चुनावमा तालमेल गर्नेलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्ने छ ।
 
बैठकमा आउँदो स्थानीय तहको चुनावका कसरी अगाडि बढ्ने भन्ने विषयमा नै छलफल केन्द्रित हुनेछ । सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनको पक्षमा छन् । नेपाली कांग्रेसले पनि अस्ति आवश्यकताअनुसार तालमेल गर्ने  निर्णय गरेपछि गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल हुन लागेको हो ।
 
कांग्रेसको शेखर कोइराला पक्ष तालमेलको विपक्षमा छ तर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवासहित बहुमत संख्या आवश्यकताअनुसार तालमेल  गर्ने पक्षमा छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बस्ने गठबन्धनको बैठकले महानगरपालिका स्तरमा हुने तालमेलबारे छलफल गरेर निर्णय गर्ने बताउनु भएको छ । हिजो चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भरतपुरको मेयरमा माओवादीको दाबी रहने बताउनु भएको थियो ।
 
यस्तै, सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।