Trending :
 

स्थानीय निर्वाचनमा एकताबद्व भएर जाने गठबन्धन दलहरुको समझदारी

चैत्र १७,२०७८

-आस्था न्यूज

चैत १७, २०७८ काठमाडौं ।
 
सत्ता गठबन्धनमा आबद्व दलहरूले आसन्न स्थानीय चुनावमा एकताबद्व भएर जाने समझदारी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावमा एकताबद्व भएर जाने समझदारी बनाएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।
 
महानगरपालिकाको विषयमा केन्द्रबाटै निर्णय लिने र अन्य स्थानीय तहको हकमा तल्ला तहलाई नै निर्णय गर्न दिने सहमति नेता खनालले बताए । उनले गठबन्धन दलहरूबीचको त्यस्तो समझदारीलाई कार्यान्वयन गर्न सबै दल सम्मिलित संयन्त्र बनाएर बाँकी प्रक्रियाका कामलाई अघि बढाउने निर्णय भएको बताए ।
 
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।