अन्तराष्ट्रिय प्रसङ्ग :
आश्विन २३,२०७४
-एजेन्सी
२३ आश्विन/ प्योङयाङ-
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अर्काे परमाणु परीक्षणको सशक्त तयारीका लागि वैज्ञानिकहरूलाई निर्देशन दिएका छन् । उत्तर कोरियाले गत ३ सेप्टेम्बरमा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो । जुन गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीनगुणा ठूलो भएको अन्तर्™ाष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
नेता किमले सो बमभन्दा पनि शक्तिशाली बम परीक्षण गर्न निर्देशन दिएका हुन् । उत्तर कोरियाको यो कदमको विश्वव्यापी रूपमा नै विरोध भएको छ । साथै सो परीक्षणको विरोधमा संयुक्तराज्य अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाउँदै आएको नाकाबन्दीलाई थप कडा पार्दै लगेको छ ।
सो नाकाबन्दीको बाबजुत पनि उत्तर कोरियाली नेताले शनिबार आणविक विकासमा सम्बद्ध अधिकारीहरूलाई आणविक क्षमतालाई थप मजबुद र शक्तिशाली बनाउन निर्देशन दिएका हुन् ।
उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले जनाएअनुसार कोरियाली वर्कर्स पार्टीको सातौं साधारण बैठकलाई सम्बोधन गर्दै उत्तर कोरियाली वरिष्ठ नेता किमले यस्तो निर्देशन दिएका हुन् ।
संयुक्तराज्य अमेरिकाले उत्तर कोरियामाथि शसक्त कारबाही गर्ने जनाएका बेला त्यस्तो धम्कीका विरुद्ध उत्तर कोरियाले अझ शक्तिशाली आणविक विकास गर्नुपर्ने भन्दै नेता उनले सो आदेश दिएको समाचारमा जनाइएको छ ।
बैठकमा सहभागी वर्कस पार्टीका नेता, उच्च सरकारी अधिकारी तथा मिसाइल वैज्ञानिकहरूलाई उनले आदेश दिँदै आणविक क्षमता विकास गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए । उत्तर कोरियाले सेप्टेम्बर ३ मा गरेको हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षणको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसिमा ध्वस्त गर्न बनाएको बमभन्दा पनि तीनगुणा ठूलो भएको बताइएको छ ।
सो परीक्षणपछि अमेरिकाले दिएको धम्कीविरुद्ध उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित नै हुने जनाएको थियो । उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश गरेको र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाविरुद्ध दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी दिएका थिए ।
प्रमुख समाचार
सम्वन्धित समाचार