नेपाल त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा

चैत्र १७,२०७८

-आस्था न्यूज

चैत १७, २०७८ काठमाडौं ।
करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएपछि लगातार तेस्रो खेल जित्दै नेपाल त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनल पुगेको छ । नेपालले बिहीबार पपुवा न्यु गिनी (पीएनजी) लाई ३७ रनले पराजित गर्‍यो ।
 
२ सय ४ रनको लक्ष्य लिएर आएको पीएनजी १९.४ ओभरमा १ सय ६६ रनमा अलआउट भयो । पीएनजीको यो लगातार तेस्रो हार हो ।
 
करण केसीले दुवै ओपनर लेगा सिएका र कप्तान असाद भालालाई समान १ रनमा आउट गरे । सिएकालाई आउट गर्दै करणले ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । अन्तिम ओभरमा करणले चाड सोपर (२), सिमोन अटोइ ० र नोसाइना पोकाना ० लाई आउट गरी ट्वान्टी २० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बने ।
 
करणले ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । नेपाली खेलाडीले पहिलो पटक ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५ विकेट लिएका हुन् । २०१५ को ट्वान्टी २० विश्वकप छनोटमा वसन्त रेग्मीले हङकङविरुद्ध १६ रन खर्चेर ४ विकेट लिनु नेपाली खेलाडीको ट्वान्टी २० अन्तर्राष्ट्रियमा यसअघिको उत्कृष्ट बलिङ प्रदर्शन थियो ।
 
चाल्र्स अमिनीले सर्वाधिक ४७ बलमा सर्वाधिक ६२ रन बनाउनेक्रममा ९ चौका प्रहार गरे । टोनी उराले २२ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । नोर्मन भानुआ १७ र सेसे बाउले २५ रन बनाए । दुबैलाई अविनाश बोहराले लगातार बलमा आउट गरे । अविनाशसँगैं सोमपाल कामीले २र२ र कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।